Category Archives: madehsh

नवलपरासीमा गोली चल्यो, ७ घाईते, एकको अवस्था गम्भिर, १ जना सम्पर्क विहिन

nawalparasi-ghaite
वृजराज कुशवाहा, नवलपरासी, ९ भदौ । निषेधित क्षेत्र तोड्ने क्रममा नवलपरासीमा बुधबार २ बजे भएको झडपमा ७ जना घाइते भएको खबर आएको छ । घाईते हुनेमा सनई गाविस ९ पडरीका ५० वर्षीय बहड धोबी र रामग्राम नगरपालिका ५ परासीका ४५ वर्षीय मुना जयसवाल रहेका छन् ।

जिल्ला प्रशासनले गएको ७ गतेदेखि तोकेको निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीतर्फ ३ जना र प्रहरीतर्फ ४ जना घाइते भएको खबर छ ।

धोबीको कोखामा गोली लागेको र अवस्था चिन्ताजनक रहेकोले जिल्ला अस्पताल परासीले भैरहवा रेफर गरेको छ । मुना जयसवालको जिल्ला अस्पताल परासीमै उपचार भइरहेको छ । मुना बालगोविन्द चोकमा आफ्नै घरको छतमा बसिरहेको अवस्थामा गोली लागेर घाईते भएको भाई बैजनाथ जयसवालले जनाएका छन् ।

प्रहरीतर्फ जवान रेम बहादुर राना घाईते भएका छन् । रानालाई ढुंगा लागेर टाउकोमा चोट लागको छ । उपचारका लागि बुटवलतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली जनाएका छन् । अन्य ३ जना प्रहरी घाईते भएका र उनको अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले अन्य घाईतेहरुको पहिचान खुलाउने काम भइरहेको बताए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले थालेको विगत १५ दिनदेखिको मधेश बन्दको आन्दोलन अराजक बन्दै गएको भन्दै जिल्ला प्रशासनले निषेधित क्षेत्र लागु गरेको थियो । प्रदर्शनकारीले विभिन्न ३ स्थानबाट निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

तिनवटै स्थानबाट एकैसाथ गरिएको प्रयासपछि बालगोविन्द चोकमा प्रहरीले चलाएको गोली लागेर उनीहरु घाईते भएका हुन् । प्रदर्शनकारीतर्फ घाईते भएका एक जना सम्पर्क विहिन भएको प्रदर्शनकारीले जनाएका छन् ।

बाँकेमा सेना सडकमा आयो

nepalgunj-ma-sena
हुलाकी न्यूज, नेपालगंज, ९ भदौ । बाँकेको मुख्य सहरहरुमा पनि सेना सडकमा आएको छ । बाँकेको नेपालगंज र कोहलपुरमा मंगलबार बिहानैदेखि सेनाले निगरानी गरिरहेको छ । मंगलबार बिहान तीन बजेदेखि नै नेपालगंज र कोहलपुरको मुख्य सडक तथा प्रतिष्ठानहरुमा सेनाको उपस्थिति देखिएको छ ।

नेपाल आयल निगम, दुरसंचार संस्थानका टावर, विद्युत गृहलगायतका महत्वपूर्ण ठाउँमा सेनाले निगरानी राख्ने गरि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अधिकारीले बताएका छन् ।

कैलालीमा कति प्रदर्शनकारी मारिए ?

kailali

काठमाण्डु, ८ भदौ– थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेको थारु सभासदहरुको टोलीले प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् ।
उनीहरुले मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको आरोपसमेत लगाएका छन् ।
सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् ।
सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए ।
थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।
काठमाडुटुडे/ फाईल तस्बिर