Tag Archives: muna jaysawal

नवलपरासीमा गोली चल्यो, ७ घाईते, एकको अवस्था गम्भिर, १ जना सम्पर्क विहिन

nawalparasi-ghaite
वृजराज कुशवाहा, नवलपरासी, ९ भदौ । निषेधित क्षेत्र तोड्ने क्रममा नवलपरासीमा बुधबार २ बजे भएको झडपमा ७ जना घाइते भएको खबर आएको छ । घाईते हुनेमा सनई गाविस ९ पडरीका ५० वर्षीय बहड धोबी र रामग्राम नगरपालिका ५ परासीका ४५ वर्षीय मुना जयसवाल रहेका छन् ।

जिल्ला प्रशासनले गएको ७ गतेदेखि तोकेको निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीतर्फ ३ जना र प्रहरीतर्फ ४ जना घाइते भएको खबर छ ।

धोबीको कोखामा गोली लागेको र अवस्था चिन्ताजनक रहेकोले जिल्ला अस्पताल परासीले भैरहवा रेफर गरेको छ । मुना जयसवालको जिल्ला अस्पताल परासीमै उपचार भइरहेको छ । मुना बालगोविन्द चोकमा आफ्नै घरको छतमा बसिरहेको अवस्थामा गोली लागेर घाईते भएको भाई बैजनाथ जयसवालले जनाएका छन् ।

प्रहरीतर्फ जवान रेम बहादुर राना घाईते भएका छन् । रानालाई ढुंगा लागेर टाउकोमा चोट लागको छ । उपचारका लागि बुटवलतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली जनाएका छन् । अन्य ३ जना प्रहरी घाईते भएका र उनको अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले अन्य घाईतेहरुको पहिचान खुलाउने काम भइरहेको बताए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले थालेको विगत १५ दिनदेखिको मधेश बन्दको आन्दोलन अराजक बन्दै गएको भन्दै जिल्ला प्रशासनले निषेधित क्षेत्र लागु गरेको थियो । प्रदर्शनकारीले विभिन्न ३ स्थानबाट निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

तिनवटै स्थानबाट एकैसाथ गरिएको प्रयासपछि बालगोविन्द चोकमा प्रहरीले चलाएको गोली लागेर उनीहरु घाईते भएका हुन् । प्रदर्शनकारीतर्फ घाईते भएका एक जना सम्पर्क विहिन भएको प्रदर्शनकारीले जनाएका छन् ।