Tag Archives: राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन

अधिकार र पहिचान सुनिश्चितताको लागि मुस्लिमहरुको आन्दोलन

rastriy-muslim-sanghars-gathbandhan-dhanusha
हुलाकी न्यूज, जनकपुरधाम, १२ भदौ । मुस्लिम अगुवाहरुले संविधानमा मुस्लिम समुदायको पहिचान स्थापित हुनुपर्ने मागसहित विरोध जुलुस निकालेका छन् ।

जनकपुरको पगलाबाबा धर्मशालाबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै भानु चौकमा गएर कोणसभामा परिणत भएको थियो । यहाँको मुस्लिम समुदायले संवैधानिक मुस्लिम आयोगको गठन, स्वायत्त मधश प्रदेशको गठन, थारु, आदिवासी, जनजातिको हकहित सुनिश्चित हुनुपर्नेसहितका ११ बुँदे माँग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत् यसअघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईसकेको छ । मुस्लिम अगुवाहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संघर्षको कार्यक्रममा पनि सहभागि हुँदै आएका छन् ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको ब्यानरमा धार्मिक स्वतन्त्रता, मुस्लिम पारिवारिक कानून निर्माण, मुस्लिम समुदायको पठनपाठन हुने मदरसाको स्तरोन्नती लगायतको माँग राख्दै जनकपुरका मुस्लिम अगुवाहरुले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

यसैबिच काठमान्डुमा पनि संविधानको परिमार्जित विधेयकप्रति असन्तुष्टि जनाउँदै मुस्लिम समुदाय सडकमा ओर्लिएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको आह्वानमा मुस्लिमहरुले शुक्रबार काठमाडौंमा सात सुत्रीय मागसहित प्रदर्शन गरेका छन् । विधेयकमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित नगरिएको, अन्तरिम संविधानले ग्यारेण्टी गरेको धर्मनिरपेक्षताका बारेमा केही उल्लेख नगरिएको, प्रदेशभित्र मुस्लिम समुदायलाई विशेष अधिकार दिने ग्यारेण्टी नगरिएको भन्दै मुस्लिमहरुले प्रदर्शन गरेका हुन् ।

कालिमाटी र घण्टाघरबाट निकालिएको जुलुस माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वर पुगेको थियो । जुलुसमा मुस्लिम समुदायको बाक्लो उपस्थिति थियो । जुलुसमा सहभागी मुस्लिमहरुले एकात्मक शासन प्रणाली खारेज गरिनुपर्ने, आफूहरुको पहिचान सुनिश्चित हुने संघीय शासन व्यवस्था लागू गरिनुपर्ने, समानुपातिक र समावेशी प्रतिनिधित्व ग्यारेण्टी गरिनुपर्ने लगायतका नारा लगाएका थिए । जुमाको नमाज सकेर जुलुसमा सहभागी भएका मुस्लिमहरुले नयाँ वानेश्वर पुगेर केहीबेर धर्ना दिएका थिए ।