Tag Archives: राखी

हर्षोल्लासका साथ रक्षाबन्धन मनाइँदै

rakhi
हुलाकी न्यूज, जनकपुरधाम, १२ भदौ । शनिबार, भाद्र १२ गते मधेशका जिल्लाहरुमा रक्षाबन्धन अर्थात राखी हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व भाईबहिनीबिचको पवित्र प्रेम दर्शाउने सामाजिक र सांस्कृतिक उत्सव हो । नेपालको मधेशी भूभागमा र छिमेकी मुलुक भारतमा विशेष महत्वका साथ रक्षाबन्धन मनाइन्छ ।

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्नो दाजुभाईको हातमा रक्षाको डोर “राखी” बाँधिदिने चलन छ । राखी बाँध्दै दिदीबहिनीले दाजुभाईसँग आफ्नो रक्षाको वचन लिन्छन् भन्ने कथन छ । यसका साथै राखीको डोरले दाजुभाईको रक्षा गर्ने विश्वास पनि रहिआएको छ । रक्षाबन्धनको दिन टाढा रहेका दाजुभाई पनि आफ्ना दिदीबहिनीकोमा राखी बन्हाउन पुग्छन् ।

बिहानै उठेर नुहाई धुवाई गरी, शुभ साईतमा दाजुभाईको कलाईमा राखी बाँधिदिने चलन छ । राखी बाँधेपछि एकअर्कालाई मिठाई खुवाउने र दाजुभाईले दिदीबहिनीलाई उपहार वा पैसा दिने चलन छ । त्यस्तै दिदीबहिनीले आफ्ना दाजुभाईलाई आशिष पनि दिनेगर्छन ।

पहिले पहिले राखीको रुपमा काँचो धागो मात्र बाँध्ने चलन रहिआएपनि अहिले बजारमा निकै आकर्षक राखीहरु पाइन्छन् । दिदीबहिनीले छानी छानी आफूलाई मन परेको राखी दाजुभाईका लागि किन्छन् ।

पहाडी समुदायमा भने यस दिनलाई जनैपूर्णिमाको रुपमा मनाउने परम्परा छ ।

राखी(रक्षाबन्धन) र हामी तीन दिदीभाई

priyanka pandey
प्रियंका पाण्डेय । भाद्र शुक्लपक्ष पूर्णिमाको दिन मनाइने दाजुभाई तथा दिदीबहिनीबिचको मायालाई अझै बलियो र प्रगाढ बनाउने पर्व हो राखी । रक्षाबन्धनको नामले पनि चिनिने यो पर्वले सामाजिक र सांस्कृतिक दुबै महत्वलाई बोकेको छ । हाम्रो देश नेपालको मधेश र हाम्रो छिमेकी देश भारतको केही भूभागमा बडो धुमधामका साथ मनाइने यो पर्व मेरो फेवरेट पर्व पनि हो ।

दिदीबहिनीले आफ्ना दाजुभाईहरुको कलाईमा रक्षाको डोर “राखी” बाँधेर अघोषित रुपमा एकअर्काको रक्षाको लागि वाचा गरिने यो पर्व आजकल आफ्नो क्षेत्रलाई बढाउँदै पहाडतिर पनि सरेको देख्न पाइन्छ । हुन त बदलिँदो समय र परिवेशसँगै धेरै कुरामा परिवर्तन आएको हामी देख्न सक्छौं । र राम्रो कुरालाई धेरैले अपनाउँछन् वा राम्रो कुरा आफै प्रसारित हुन्छ भन्ने कुरालाई प्रमाणित गर्दै अहिले राखी नेपालको राजधानी काठमाडौंमा पनि निकै रमाइलो साथ मनाइन्छ । त्यसैले त होला, अहिले बजारमा रंगिबिरंगी एक से एक महँगा र सुन्दर सुन्दर राखीहरु किन्न पाइन्छ ।

दुई जना भाईहरुकी एक्ली दिदी म सानै देखि “राखी” भन्ने बित्तिकै हुरुक्क हुने । पहिला पहिला राखीको महत्व नबुझेकी म राखी बाँधेपछि भाईहरुले दिने दुई–चार पैसाकै लोभले गर्दा हो वा राखीमा खान पाइने स्वादिष्ट मिठाईहरुले बच्चैदेखि राखी मेरो फेवरेट पर्व । मम्मीले नै राखी पनि किनेर ल्याइदिने र मिठाई किन्ने जिम्मा पनि उहाँकै भएको कारणले राखी भन्ने बित्तिकै आफ्नो त फायदा मात्र हुन्छ भन्ने एक किसिमको लोभ थियो होला शायद ।

त्यही लोभले गर्दा पनि होला, प्रत्येक वर्ष मेरा लागि बहुप्रतिक्षित रहने राखीको वास्तविक महत्व बल्ल आएर बुझेकी छु । आफू त राखीमा बिहान सबेरै उठेर नुहाई धुवाई गरी आफ्नो सबसे फेवरेट लुगा लगाई, भाईहरुले नाई–नास्ती गर्दा पनि “हैन, नुहाउनै पर्छ आजको दिन त” भन्दै जबरजस्ती नुहाउन लगाई, अझ कल पनि आफैले चलाई दिएर पण्डितजीहरुले बताउनुहुने साईत अनुसार आफू पनि भोकै बसि, भाईहरुलाई पनि भोकै बस्न लगाई साईत भएपछि हातको नाडीमा राखी बाँधिदिएर मिठाई ख्वाई सकेपछि डैडीसँग माँगेर भएता पनि भाईहरुले दिने १०–२० रुपैयाँ पाईसकेपछि खुशीले गजक्क फुलेकी मेरो राखी सम्पन्न हुन्थ्यो ।

दिनभरी भाईहरुले दिएको त्यही पैसा बारम्बार गन्दै सहि ठाउँमा लुकाउँदै र यती रुपैयाँ यो कामका लागि यति रुपैयाँ यो कामका लागि खर्च गर्छु भनेर योजना बनाउँदै व्यस्त हुन्थें म ।

बढ्दै गएको उमेरसँगसँगै पछि–पछि आफैं आफ्नै पैसाले राखी र मिठाई किनेर ल्याउन थालें । त्यस्तै मेरा दुबै भाईहरुले पनि आफ्नै पैसा दिदीलाई दिने भन्दै कोभन्दा कसले बढी दिने भन्ने होड पनि नभएको होइन । र पनि जेठो भाईले नै सँधै बढी दिने र कान्छो भाईले चाँहि प्रत्येक वर्ष दिदी म अर्को वर्ष दाई भन्दा बढी दिन्छु भन्दै गर्ने वाचा पनि कम रमाइलो लाग्दैनथ्यो मलाई ।

पछि–पछि अलिक उमेर भइसक्दा सम्म भाईहरुको साथिहरु पनि दिदीको हाथले राखी बँधाउन भन्दै आउन थाले र यसरी मेरो कमाई पनि वर्षैपिच्छे बढ्दै गयो । हिजोको दिनमा पैसाकै लोभले बाँध्दै आएको राखीले कहिले हामी तिनै दिदीभाईलाई माया–स्नेह र गाढा प्रेममा बाँधेको रहेछ थाहै पाइएन ।

बदलिँदो समय र बढ्दै गएको उमेरले अहिले मेरा दुबै भाईहरु विदेशमा छन् । जेठो भाई बिकेश पाण्डेय आज डाक्टरको पदवी लिएर डा. विकेश पाण्डेय भई हाम्रो छिमेकी देश चिनमा काम गरिरहेको र कान्छो भाई अभिशेक पाण्डेय पनि आउने दुई वर्ष पछाडि एमबिबिएस को पढाई सकि डाक्टर बन्दैछ भन्ने कुरामा कतै मैले नै प्रत्येक वर्ष आफ्ना भाईहरुको कलाईमा राखी बाँधि दिएर उनीहरुले ढोग्दा आफूले दिने गरेको राम्रो हुनु, ज्ञानी हुनु, ठूलो मान्छे बन्नु, डाक्टर नै बन्नु, मम्मी डैडीलाई माया गर्नु जस्ता आशिर्वादले त भएको हैन भन्ने एक किसिमको सन्तुष्टि मनमा लाग्छ ।

पहिला पहिला सानोमा भोकभोकै बसेर साईत कुर्दै राखी बाँधिन्थ्यो भने अहिले ध्भअजबत मा बसेर भाईलाई राखी र मिठाई दुबै देखाउँदै आँखाभरी आँसु लिएर यो राखी पछि आउँदा एकैचोटि बाँधि दिन्छु भनेर राख्दै अनि मिठाई देखाई मात्र दिएर आफै खाने गर्दा हामी धेरै ठूला भइसकेकारैछौं भन्ने भावना आउँछ । कलाईमा राखी बाँध्न नपाएतापनि आशिर्वाद चाँहि टन्नै दिन्छु, कम्प्युटरकै माध्यमले कानमा पुगि हाल्छ क्यार !

बदलिँदै गएको समयले राखीमा नयाँपन ल्याए ता पनि, हामी टाढा टाढा भए ता पनि यस पर्वले हामी भाई बहिनीलाई भने झन नजिक ल्याएको छ ।
राखीको धागोसँगै हाम्रो माया स्नेह र समझदारीलाई झन प्रगाढ बनाएको छ ।

एक अर्काको रक्षा गर्ने वाचाहरु झन बलिया भएका छन् । र अहिले आएर मात्र मैले बुझेकि छु कि राखीको धागो मात्र कच्चा रहेछ, त्यसले बाँधिने भाई बहिनीको आत्मियता त जुगौंजुगसम्म नचुँडिने पक्का बन्धन पो रहेछ ।

प्रत्येक वर्ष यो पर्व मेरो लागि झन झन फेवरेट बन्दै गएको छ । संसारमा रहेका प्रत्येक दिदी बहिनी र दाजुभाईको लागि समर्पित यसपाली भाद्र १२ गते शनिबारको दिन परेको राखी । आउने वर्षहरुमा राखीको महत्व अझ बढ्दै जाने छ । दुरीको हिसाबले टाढा टाढा रहेको दाजु भाई दिदी बहिनीहरुलाई पनि आत्मिय ढंगले नजिक ल्याइदिने यो पर्व मेरो त सँधै फेवरेट हो ।