जनकपुरमा कुकुर जुलुस

kukur-julus
पुरन साह, जनकपुरधाम, १२ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी संघले जनकपुरमा कुकुर जुलुस प्रदर्शन गरेको छ । संविधानको मस्यौदाको विरोधमा आन्दोलनकै क्रममा समाजवादी विद्यार्थी संघले पृथक किसिमको विरोध जुलुस आयोजना गरेको हो । रामसपाको जनकपुर भानुचौकस्थित पार्टी कार्यालयदेखि कुकरसहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चौकमा गएर कोणसभामा परिणत भएको थियो ।

विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झाको नेतृत्वमा निस्केको जुलुसले प्रमुख दलका नेताहरुको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेको थियो । मधेशमा जारी आन्दोलन हिंसात्मक हुँदै गएपनि मुख्य दलका नेताहरुले जनताको आन्दोलन र जनजविनप्रति कुनै चासो नदेखाएकोप्रती विद्यार्थीहरु आक्रोसित देखिन्थे ।

जुलसमा रामसपाबाट सभासद रहेका जनकपुरका व्यापारी दिनेश साहको पनि सहभागिता रहेको थियो । मधेश तनावग्रस्त हुँदै गएपनि मुख्य दलका चार नेताहरु बोल्न नसक्ने लाटो, सुन्न नसक्ने बहिरो र देख्न नसक्ने अन्धो भएर बसेकाले कुकुर जुलुस निकालिएको प्रदर्शनकारीले बताएका छन् ।
उनीहरुले प्रधानमन्त्री कोइरालालाई लाटो, केपी ओलीलाई बहिरो, गृहमन्त्री बामदेव गौतमलाई अन्धो र सभामुख सुवासचन्द्र नेम्वाङ्गलाइ लापहरवाको संज्ञा दिएको तस्विरसहित जुलुस प्रदर्शन गरे । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्व नरहेपनि जारी अनिश्चितकालिन बन्दको रामसपाले विभिन्न दबाबमुलक कार्यक्रम गरि समर्थन गर्दै आएको छ ।

अधिकार र पहिचान सुनिश्चितताको लागि मुस्लिमहरुको आन्दोलन

rastriy-muslim-sanghars-gathbandhan-dhanusha
हुलाकी न्यूज, जनकपुरधाम, १२ भदौ । मुस्लिम अगुवाहरुले संविधानमा मुस्लिम समुदायको पहिचान स्थापित हुनुपर्ने मागसहित विरोध जुलुस निकालेका छन् ।

जनकपुरको पगलाबाबा धर्मशालाबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै भानु चौकमा गएर कोणसभामा परिणत भएको थियो । यहाँको मुस्लिम समुदायले संवैधानिक मुस्लिम आयोगको गठन, स्वायत्त मधश प्रदेशको गठन, थारु, आदिवासी, जनजातिको हकहित सुनिश्चित हुनुपर्नेसहितका ११ बुँदे माँग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत् यसअघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईसकेको छ । मुस्लिम अगुवाहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संघर्षको कार्यक्रममा पनि सहभागि हुँदै आएका छन् ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको ब्यानरमा धार्मिक स्वतन्त्रता, मुस्लिम पारिवारिक कानून निर्माण, मुस्लिम समुदायको पठनपाठन हुने मदरसाको स्तरोन्नती लगायतको माँग राख्दै जनकपुरका मुस्लिम अगुवाहरुले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

यसैबिच काठमान्डुमा पनि संविधानको परिमार्जित विधेयकप्रति असन्तुष्टि जनाउँदै मुस्लिम समुदाय सडकमा ओर्लिएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको आह्वानमा मुस्लिमहरुले शुक्रबार काठमाडौंमा सात सुत्रीय मागसहित प्रदर्शन गरेका छन् । विधेयकमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित नगरिएको, अन्तरिम संविधानले ग्यारेण्टी गरेको धर्मनिरपेक्षताका बारेमा केही उल्लेख नगरिएको, प्रदेशभित्र मुस्लिम समुदायलाई विशेष अधिकार दिने ग्यारेण्टी नगरिएको भन्दै मुस्लिमहरुले प्रदर्शन गरेका हुन् ।

कालिमाटी र घण्टाघरबाट निकालिएको जुलुस माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वर पुगेको थियो । जुलुसमा मुस्लिम समुदायको बाक्लो उपस्थिति थियो । जुलुसमा सहभागी मुस्लिमहरुले एकात्मक शासन प्रणाली खारेज गरिनुपर्ने, आफूहरुको पहिचान सुनिश्चित हुने संघीय शासन व्यवस्था लागू गरिनुपर्ने, समानुपातिक र समावेशी प्रतिनिधित्व ग्यारेण्टी गरिनुपर्ने लगायतका नारा लगाएका थिए । जुमाको नमाज सकेर जुलुसमा सहभागी भएका मुस्लिमहरुले नयाँ वानेश्वर पुगेर केहीबेर धर्ना दिएका थिए ।

रक्षाबन्धनको अवसरमा शनिबार मधेशका बजारहरु खुल्ला

rakhi-market
हुलाकी न्यूज, काठमाडौं, १२ भदौ । मधेशमा जारी अनिश्चितकालिन बन्द र आन्दोलनकै बिच शनिबार भने बजारहरु खुल्ला छ । शनिबार परेको रक्षाबन्धनलाई ध्यानमा राख्दै अधिकांश जिल्लाका बजार र पसल खोल्न दिने आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ ।
जनकपुर, वीरगंज, नेपालगंजलगायतका मुख्य सहरहरुमा रक्षाबन्धनको अवसरमा बजार खुलेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, धनुषाले रक्षाबन्धन पर्वको लागि भनेर शुक्रवार दिउँसो ३ बजेदेखि शनिवार सम्मका लागि बजार खुल्ला गर्ने निर्णय गरेको छ । जनकपुर उद्योग वाणिज्य संघको विशेष आग्रहमा मोर्चाले शुक्रबार तीन बजेदेखि शनिवार दिनभरिका लागि बजार खोल्ने निर्णय गरेको हो ।

सदभावना पार्टीका जिल्ला अध्यक्ष संजय कुमार सिंहले बजार खुलेपनि सवारी सधानहरु बन्द रहने बताए । उनले शनिवार राजमार्ग केन्द्रित आन्दोलन हुने बताएका छन् । बजार बन्द वाहेक विरोधका अन्य कार्यक्रमहरु भने यथावत रहने सिंहले जनाए । मोर्चाको घटक दलका सबै अध्यक्षहरुसँग जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहसहितका व्यवसायिहरुको शुक्रवार विहान बसेको बैठकले रक्षाबन्धन पर्वको विशेष अवसरमा बजार खोल्ने निर्णय गरेको छ ।